Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Thursday, September 3, 2020

thumbnail

देशको राजनीतिमा युवाको भुमिका र नयाँ सम्भाबना : स्वतन्त्र राष्ट्रिय अभियान नेपाल ।

 हरेक ब्यक्ती कुनै न कुनै आदर्श अनी सिद्दान्तबाट प्रेरित र निर्देशित हुन्छ अनी कुनै एक निती अनुसरण गरेको हुन्छ । ।  सम्पूर्ण नीतिहरु मध्ये एक मुख्य नीति राजनीति हो । राजनीतिलाई नीतिहरुको राजा पनि भनिन्छ । सामान्य अर्थमा भन्ने हो भने राज्य सञ्चालन गर्ने नीति नै राजनीति हो । तर आज राजनीति शब्द यति बिकृत भएको छ कि राजनीति भनेको राज्य सञ्चालनको नीति नभइ जालझेल र षड्यन्त्रको नीतिमात्र बुझिन थालिएको छ । राजनीतिका पिता मानिने पुर्विय दर्शनका महापुरुष कौटिल्यका अनुसार आफ्नो राज्यको बृहत्तर हित, राज्यको विकास र जनताको सुरक्षाको लागि अपनाइने सम्पूर्ण नीतिहरु राजनीति हो ।




कौटिल्यले राज्य सञ्चालन राजा र नागरिकले राष्ट्रको हितमा गर्नुपर्ने सम्पूर्ण कर्तव्यहरुको संग्रह चाणक्यनीतिको रचना गरेका छन जुन आजको समयमा पनि उत्तिकै सान्दर्भिक छ । राजनीति शास्त्रका पिता अस्रतुका अनुसार राष्ट्रको सेवाको लागि कुनैपनि विचार वा आदर्श बोकेर संगठितरुपमा सक्रिय रहेर राज्यसत्ताको कार्यकारी स्थानमा पुग्न गरिने सम्पूर्ण क्रियाकलापहरु राजनीति हो । हिजोको समयमा परिभाषा गरिएका राजनीतिका व्याख्याहरु आजपनि आदर्शवान छन । तर आज राजनीतिका सैद्धान्तिक परिभाषाहरु उहि भएपनि व्यवहारिक परिभाषाहरु फेरिएका छन् । हिजोको समयमा आदर्श र सम्मानको रुपमा रहेको राजनीति क्षेत्र आजको समयसम्म आइपुग्दा निकै नै विकृत र तिरस्कृत हुन पुगेको छ ।

आजको राजनीतिलाई विकृत बनाउने मुख्य भुमिका राजनीतिलाई सेवा क्षेत्रबाट पेशामा रुपान्तरित गरी आफ्नो र आफ्नो परिवारको लागि अकुत धन आर्जन गर्ने र राज्यको शक्ति आँफुमा केन्द्रित गरि शक्तिको अभ्यास गर्न लालयित राजनैतिक क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरु हुन । हिजोको समयमा राजनीति भनेको के हो ? भनेर कसैलाई प्रश्न गर्दा निस्वार्थ सेवा भावले राज्य र नागरिकको हितको लागि र राष्ट्रका दुश्मनका विरुद्धमा साम, दाम, दण्ड र भेदको नीति प्रयोग गरि गरिने कार्य राजनीति हो भन्ने उत्तर पाइन्थ्यो । तर आजको समयमा आफ्नो व्यक्तिगत स्वार्थ पुर्तीको लागि साम, दाम, दण्ड र भेद प्रयोग गर्नु राजनीति हो भन्ने उत्तर पाइन्छ । आज कसैले कुनै अनुचित कार्य वा षड्यन्त्र गर्‍यो भने फलानाले राजनिति गर्‍यो भनेर भन्ने गरिन्छ ।

यहि गलत क्रियाकलापले आज नेतृत्व र राजनीतिज्ञका परिभाषाहरु फरक–फरक हुन पुगेका छन । कुनै आदर्शवान व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर अझ आफ्नो भएको सम्पत्ती पनि जनताको सेवामा खर्चेर हरेक दुःख कष्टमा पनि अविचलित रहेर सेवा कार्यलाई निरन्तरता दिन्छ, छल, कपट र षड्यन्त्र गर्न जान्दैन भने त्यसलाई नेता वा नेतृत्वको संज्ञा दिइन्छ भने आफ्नो स्वार्थको लागि जस्तो सुकै छल, कपट र षड्यन्त्रको प्रयोग गर्न नहिच्किचाउने, अरुलाई सकाएर आँफु माथी पुग्ने व्यक्तिहरुलाई राजनीतिज्ञको संज्ञा दिइन्छ । यसै कारणले गर्दा आज राजनीतिलाई फोहोरी खेलको संज्ञा दिइएको छ । आज राजनीतिलाई फोहोरी खेल बनाउन क–कस्को कति योगदान रहेको छ ति व्यक्ति तथा दलहरुले आत्म विश्लेषण गर्न जरुरी रहेको छ  ।

तर राजनीति आँफैमा फोहारी खेल कहिल्यै थिएन, छैन र कहिल्यै हुने पनि छैन । तर यो खेलका खेलाडीहरु चै फोहरी खेलाडी हुन । यिनै फोहोरी खेलाडीहरुको विकृत खेलले गर्दा समग्र राजनीति क्षेत्रलाई नै विकृत र दुषित बनाउन पुगेका छन । तर राजनीति यति विकृत हुँदा पनि समग्र राजनीतिबाट कोहि पनि मानिसहरु अछुतो रहन सकेको छैन । हरेक मानिसहरु कुनै न कुनै प्रकार र माध्यमबाट राजनीतिमा जोडिएका छन । चाहे प्रत्यक्ष होस वा अप्रत्यक्ष तवरले । विशेष गरि युवा पुस्ता । नेपालको अहिलेको परिवेशमा प्राय युवाहरु आँफुलाई राजनीति मन नपर्ने बताउँदछन । तर कुनै निर्वाचनमा आफ्ना दल विशेषलाई जिताउन सबैभन्दा बढि क्रियाशिल रहने जमात भनेको नै युवा जमात हो । मुलुकका हरेक कुनामा हरेक चिया पसलमा राजनैतिक रुपले सचेत होस वा नहोस हरेक युवा जमातको सामसहिक बहस र छलफल भनेको नै वर्तमान राजनैतिक परिवेश हुने गर्दछ । जुन आँफैमा एउटा सकारात्मक पक्ष हो । कुनै दल विशेषमा प्रत्यक्ष जोडिएर राज्यको नेतृत्व तहमा पुग्नु मात्र राजनीति गर्नु होइन । कुनै पनि राजनैतिक विचारमा आस्था राख्नु, कुनै दल विशेषलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु वा निर्वाचित गराउनु, कनै विचारको पक्षमा प्रचार गर्नु पनि राजनीतिमा जोडिनु हो ।

नेपालको सन्दर्भमा युवा वर्गको एउटा ठुलो हिस्सा प्रत्यक्ष राजनीति सँग जोडिएको छ । नेपालका हरेक पार्टीहरुका युवा र विद्यार्थी संगठनमा रहेका सम्पूर्ण सदस्यहरको संख्या नियाल्दा देशका सम्पूर्ण युवाहरुको ठुलो हिस्सा प्रत्यक्ष राजनीतिमा जोडिएको छ । अझ असंगठित रुपमा कुनै पार्टी प्रति आस्था राख्ने युवाहरुको संख्या लगभग शतप्रतिशत नै हुन आउँछ (केहि अपवाद बाहेक) । युवाहरुको यस प्रकारको राजनीति प्रतिको चासो र सक्रियताले समग्र राजनीति क्षेत्र र देशको भविष्य प्रति सकारात्म आशा जगाएको छ । युवा शक्ति भनेको अत्यन्त क्रियाशिल र परिवर्तनकारी शक्ति हो । संसारमा आजसम्म जति पनि परिवर्तनहरु भएका छन ति सबै युवा शक्तिले गरेका परिवर्तन हुन । संसारका खोज तथा अविस्कारहरु जसले मानव जिवनमा अकल्पनिय परिवर्तन ल्याएका छन ति अविस्कारक तथा खोजकर्ताहरुले युवा अवस्थामा नै ति खोज तथा अविस्कार गरेका हुन(केहि अपवाद बाहेक) । गौतम बुद्ध संसारको दुःख निवारण गर्न आफ्नो सम्पूर्ण राजसी सुख सयल त्यागेर सत्यको खोजमा निस्कदा २९ वर्षका युवा थिए । कम्युनिष्ट घोषणा पत्रका सचनाकार, सर्वहारा वर्गका मुक्तिनायक महान दार्शनिक कमरेड कार्ल माक्र्सले कम्युनिष्ट घोषणा पत्र जारी गर्दा उनि पनि युवा नै थिए ।

विश्व विजेता महान सम्राट नेपोलियन बोनापर्टले युवा अवस्थामानै लगभग आधा विश्व विजय गरेका थिए । विज्ञान का पिता महान बैज्ञानि अल्बर्ट आइन्सटाइनले पनि युवा अवस्थामानै सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका थिए । अहिले सुचना प्रविधिमा कायापलट गर्ने सामाजिक सञ्जाल फेसबुकका निर्माता मार्क जुकरवर्क पनि युवा नै छन । यि प्रतिनिधि उदहारण मात्र हुन ।  प्राय गरेर जति पनि नयाँ अविस्कार र नयाँ काम भएका छन ति युवा शक्तिले नै गरेका छन । यिनै युवाहरु सक्रिय रुपमा राजनीतिमा आउँदा समग्र राजनीति क्षेत्रलाई नै फरक दिशामा डोहो¥याउने सामथ्र्य राख्दछन । र आजको समयमा प्रत्यक्ष राजनीतिमा जोडिने युवाहरुको संख्या दिनानुदिन बढ्दो मात्रामा छ । तर युवाहरु किन राजनीतिमा जोडिन चहान्छन त्यसको विश्लेषण गर्न जरुरी रहेको छ । आजको समयमा युवाहरु मुखयतः तिन कारणले राजनीतिमा जोडिएका हुन्छन् । ति निम्न छन् :-

क) आस्था तथा सिद्धान्त

कुनै पनि राजनैतिक दल बन्नको लागी निश्चित विचार तथा सिद्धान्त आवश्यक हुन्छन । र हरेक दलले निश्चित सिद्धान्त तथा दर्शन बोकेका हुन्छन । त्यहि सिद्धान्त, विचार तथा दर्शनबाट प्रबाभित भएर ति सिद्धान्त र विचारलाई व्यवहारिक प्रयोगमा ल्याई देश तथा जनताको सेवा गर्ने उद्देश्यले युवाहरु राजनीतिमा जोडिन्छन । यस्ता प्रकारका युवाहरु जस्तोसुकै कठिन परिस्थितीमा पनि विचलित हुँदैनन् । यिनिहरु सिद्धान्त रक्षाको लागि जस्तो कार्य गर्न पनि तयार हुन्छन । सिद्धान्तको रक्षा र व्यवहारिक प्रयोगको लागि मर्न र मार्न पनि तयार हुन्छन । यिनिहरु सक्रिय रहन्छन । आस्था र सिद्धान्तको आधारमा राजनीतिमा जोडिएका युवाहरु आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी रहेर समाज तथा देशको हितमा कार्य गर्न लालयित रहन्छन । कालान्तरमा पार्टी तथा मुलुकको नेतृत्व गर्ने यहि आधारमा राजनीतिमा जोडिएका व्यक्तिहरु हुने गर्दछन । यिनिहरु सिद्धान्तको व्यवहारिक प्रयोग गर्ने हुन्छन । यिनिहरुमा सिर्जनात्मक र आलोचनात्मक चेत हुन्छ ।

ख) पारिवारिक विरासत

अझै पनि हाम्रो समाजमा हजुरबुबाले जुन दलमा आफ्नो आस्था राख्नु भयो बुबा पुस्ताले पनि त्यसैमा आस्था राख्नुभयो र अहिले नाती पुस्ता पनि त्यहि दलमा आस्था राख्छ । यदि बाबु कुनै दलमा आवद्ध छन भने छोरोछोरी पनि बाबुको बिँडो थाम्न वा परिवारको विरासत जोगाउन त्यहि दलमा आवद्ध हुन्छन । यदि सक्रिय राजनीतिमा जोडिएको छैन भने पनि निर्वाचनको बेलामा बाबु बाजे जुन दलमा आवद्ध तथा आस्थावान हुनुहुन्थ्यो त्यहि दललाई मतदान गर्दछन । विशेष गरि पारिवारिक विरासतको कारणले राजनीतिमा जोडिएका युवाहरु सक्रिय राजनीतिमा कमै मात्रामा हुन्छन् । यिनहरु प्राय गरेर समर्थक वा मतदाताको रुपमा रहन्छन । यिनिहरु पार्टीबाट केहि आस गर्दैनन् । र पार्टी वा दललाई पनि त्यस्तो सहयोग गर्दैनन् । यिनिहरु सैद्धान्तिक र व्यवहारिक रुपमा निस्क्रिय रहन्छन । तर पार्टीका चै अन्धभक्त हुन्छन । यिनिहरुको कार्य भनेको आफ्नो पार्टीको हरेक कामको अन्ध रुपमा समर्थन गर्नु मात्र हो । यिनिहरु पनि जस्तै कठिन परिस्थिीमा दलको साथ छोड्दैनन् । यिनिहरुमा सिर्जनात्मक र आलोचनात्म चेत हुँदैन । यिनिहरुलाई राम्रो सँग सिद्धान्त बुझउन सक्दा राम्रा कार्यकर्ता तथा नेता बन्न सक्छन र पार्टी परिवर्तन पनि गर्न सक्छन । तर प्राय गरेर यस्ता समुहका व्यक्तिहरु कार्यकार्ता भन्दा पनि यन्त्रमानवको रुपमा रहन्छन । यि समुहका युवाहरुले सक्रिय राजनीतिमा जोडिए पनि नेतृत्व गर्न सक्दैनन् । माथील्लो तहमा त पुग्लान तर नेतृत्व तहमा पुग्दैनन् (केहि अपवाद बाहेक) । तर पारिवारिक विरासत तथा  आस्था र  सिद्धान्त यि दुबै कारण राजनीतिमा जोडिनेको हकमा यो कुरा लागु नहुन सक्छ । र सबै पारीवारीक विरासतको आधारमा छानीएका दलहरु गलत नै हुन्छन भन्ने हुँदैन ।

ग­) संरक्षण

अहिलेको नेपाली राजनैतिक परिवेसमा सबैभन्दा बढि युवाहरु राजनीतिमा जोडिने कारण भनेको संरक्षण नै हो । यस कारणले जोडिने युवाहरुको लागि पार्टीको सिद्धान्त र व्यवहारले कुनै अर्थ राख्दैन । यिनिहरु राजनीतिको आडमा शक्तिको दुरुपयोग र व्यक्तिगत स्वार्थको लागि राजनीतिमा आएका हुन्छन । यिनिहरुको उद्देश्य भनेकोनै आफ्ना अपराधहरुलाई ढाकछेप गरि प्रहरी र कानुनबाट जोगाएर दल तथा नेताले यिनिहरुको संरक्षण गर्नु हो । यिनिहरु सक्रिय राजनीतिमा रहँदा पनि नेतृत्वमा जान रुचाउँदैनन् । यिनिहरु नेतृत्वको आफ्नो अनुकुल परिचालन गरेर आफ्नो कालो सम्राज्य चलाउन चहान्छन । प्राय गरेर गुण्डा, तस्कर, माफिया, दलाल र व्यापारीहरु संरक्षणको कारणले राजनीतिमा जोडिएका हुन्छन । यस्ता व्यक्तिहरु जुनसुकै समय र परिस्थितीमा पनि दल परिवर्तन गर्न सक्छन । यिनिहरु प्राय सत्ता सँग नजिक रहेका र ठुला दलसँग जोडिन्छन । र दल कमजोर भयो भने अथवा आफ्नो प्रतिकुल हुने र आफ्नो अपराधको संरक्षण गर्न दलले नसक्ने भयो भने यिनिहरु तुरुन्त दल परिवर्तन गर्छन ।

जसरी युवाहरु फरक फरक उद्देश्यको लागि राजनीतिमा जोडिएका हुन्छन, त्यसरीनै युवाहरुको प्रयोग पनि राजनैतिक दल तथा नेताहरुले पनि युवाहरुको प्रयोग फरक परक उद्देश्य राखेर गरेको पाइन्छ । विशेषतः दुई किसिमले नेपाली राजनीतिमा युवाहरुको प्रयोग भएको पाइन्छ । ति हुन :–

क) सकारात्मक÷सिर्जनात्मक

सकारात्मक तथा सिर्जनात्मक कार्यमा विशेष गरी आस्था र सिद्धान्तको आधारमा राजनीतिमा जोडिएका युवाहरु प्रयोग हुन्छन । पार्टी तथा दलहरुले युवाहरुलाई संगठन विस्तार, विचारको विस्तारता, नागरिकको सुख–दुःखको सहयात्री, युवाको नेतृत्व क्षमता विकास, जनतामा चेतना बृद्धि, भौतिक विकास निर्माण आदि सकारात्मक तथा सिर्जनात्मक पक्षमा युवाको प्रयोग गरेका छन । तर यस्तो प्रयोग निकै कम पार्टीहरुले गरेका छन । यस्तो प्रयोगले युवाहरु, दल, जनता, समाज र समग्र राष्ट्रको हितमा भुमिका खेलेको हुन्छ ।

­

ख) नकारात्मक÷ध्वंसात्मक

राजनैतिक विकृतिको रुपमा देखिएको र वतर्मानमा राजनीतिलाई घृणित बनाउने मुख्य कारण भनेको नै युवाहरुको नकारात्मक प्रयोग हो । नेता तथा दलहरुले आफ्नो व्यक्तिगत तथा दलगत स्वार्थ, आफ्नो वर्चस्व कायम गर्न तथा प्रभुत्व जमाउन युवाहरुलाई ध्वंसात्मक कार्यमा प्रयोग गर्दछन । यस्तो कार्यमा विशेष गरी संरक्षणको लागि राजनीतिमा जोडिएका युवाहरु प्रयोग हुने गर्दछन । ध्वंसात्मक प्रयोगमा प्राय गरेर नेताहरुले गुण्डा, तस्कर, माफिया, दलाल सँग उनिहरुको कालो कमाइबाट आर्थीक उपार्जन गर्न युवाहरुलाई प्रयोग गर्छन र ति गुण्डा, तस्कर, माफिया तथा दलालहरुलाई राजनैतिक संरक्षण प्रदान गर्दछन । अनि राजनैतिक प्रभुत्व कायम गर्नको लागि तोडफोड, आगजनी ध्वंस र बन्दको आयोजनाको लागि युवाहरुको प्रयोग गर्दछन । तर कहिलेकाँहि सिद्धान्त र आस्थाको आधारमा राजनीतिसँग जोडिएका युवाहरु पनि यस्तो ध्वंसात्मक÷नकारात्मक कार्यमा प्रयोग हुने गर्दछन । आस्था र सिद्धान्तका आधारमा जोडिएका युवाहरुलाई उनिहरुको तातो जोसको फाइदा उठाउँदै सिद्धान्त रक्षाको दुहाइ दिएर केहि नेताहरुले ध्वंसात्मक कार्यमा प्रयोग गरिरहेका हुन्छन ।

अन्त्यमा, युवाशक्ति भनेको परिवर्तनको संवाहक हो । आफ्नो भविष्य, पारिवार, समाज र सम्पूर्ण मुलुकको विकासको मेरुदण्ड भनेको युवानै हुन । र देश विकासको मुख्य आधार भनेको सकारात्मक राजनीतिनै हो । त्यसैले सकारात्मक सोच बोकेका युवाहरु धेरै भन्दा धेरै राजनीतिमा आउनु पर्दछ । आफ्नो दलमा युवाहरु कस्तो उद्देश्य बोकेर आएका छन र कस्ता युवालाई आफ्नो पार्टीमा सहभागी गराउने भन्ने बारेमा राजनैतिक दलले र म आँफु कस्तो कार्यमा प्रयोग हुँदैछु । मलाई नेता तथा पार्टीले कस्तो कार्यमा प्रयोग गर्दैछ भनेर युवाहरुले सोच्न जरुरी छ । युवाहरुलाई सकारात्मक÷सिर्जनात्मक कार्यमा प्रयोग गरि देश तथा नागरिकको हितमा कार्य गर्नु राजनैतिक दलको र सकारात्मक कार्यमा प्रयोग भइ राजनीतिलाई देश तथा नागरिकको सेवा गर्ने माध्यम बनाउनु युवाहरुको कर्तव्य हो । र दल तथा युवाहरु स्वच्छ तथा प्रतिस्पर्धाको आधारमा नेतृत्वमा पुग्ने अभ्यास गरेर राजनीतिलाई सकारात्मक दिशामा अगाडी बढाउनु आजको आवश्यकता हो र यही आवश्यकतालाई मनन गर्दै हामीले नयाँ युगको सुरुवात गर्नुछ , त्यही सुरुवात नै स्वतन्त्र राष्ट्रिय अभियान हो । यो अभियान भोली राजनीतिक शक्तीमा बदलिनेछ । नयाँ नेपाल तब मात्र सम्भब छ जब यो अभियान सफल हुनेछ । 

जय नेपाल । 

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu